कोलोराडो । कोलोराडोका न्यायाधीश (U.S. District Senior Judge R. Brooke Jackson) ले अमेरिकी आप्रवासन निकाय ICE ले बिना वारेन्ट मानिसहरू पक्राउ गर्ने विषयमा अदालतको आदेश उल्लङ्घन गरेको बताएका छन् ।
यूएस डिस्ट्रिक्ट सिनियर जज आर. ब्रुक ज्याक्सनले मंगलबार दिएको निर्णयमा ICE एजेन्टहरूले गत नोभेम्बरमा जारी गरिएको अदालतको आदेश पालना नगरेको उल्लेख गरेका छन् । उक्त आदेशअनुसार, कुनै व्यक्तिलाई बिना वारेन्ट पक्राउ गर्नुअघि उनी अवैध रूपमा अमेरिकामा रहेको र भाग्न सक्ने सम्भावना भएको स्पष्ट आधार हुनुपर्ने थियो।
तर न्यायाधीशले ICE ले पर्याप्त प्रमाणबिना नै मानिसहरूलाई पक्राउ गरिरहेको बताएका छन् । उनले ICE अधिकारीहरूलाई अदालतको आदेशबारे विशेष तालिम दिन र बिना वारेन्ट गरिएका पक्राउको विवरण अदालतमा बुझाउन पनि आदेश दिएका छन् ।
यो मुद्दा अमेरिकन सिभिल लिबर्टिज युनियन (ACLU, American Civil Liberties Union of Colorado) अफ कोलोराडोले दायर गरेको हो । ACLU ले ICE माथि आप्रवासन कारबाहीका क्रममा धेरै ल्याटिनो समुदायका मानिसहरूलाई जथाभाबी पक्राउ गरेको आरोप लगाएको छ ।
ACLU का कानुनी निर्देशक टिम म्याकडोनाल्डले अदालतको निर्णयलाई “कानुनको शासनका लागि महत्वपूर्ण” बताएका छन्। उनले “ICE कानुनभन्दा माथि छैन” भन्ने अदालतले स्पष्ट पारेको बताए।
ICE ले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । यसअघि पनि ओरेगन, क्यालिफोर्निया र वासिङ्टन डी.सी.का संघीय अदालतहरूले बिना वारेन्ट पक्राउमा कडाइ गर्न आदेश दिएका थिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend