काठमाडौं । जगदीश चन्द्र जोशी (ज्याक) काड्रो खेलका लागि नेपालका आधिकारिक राष्ट्रिय राजदूतमा नियुक्त भएका छन्। अन्तर्राष्ट्रिय स्तरका स्ट्रीट वर्कआउट तथा क्यालिस्थेनिक्स च्याम्पियन, युवा नेता र स्ट्रीट संस्कृतिका सक्रिय प्रतिनिधि ज्याकले यस भूमिकामार्फत नेपालको स्ट्रीट संस्कृति, स्ट्रीट खेलकुद र युवा आन्दोलनलाई काड्रोको विश्व मञ्चमा प्रतिनिधित्व गर्नेछन् ।
काड्रो इन्टरनेशनल अवार्ड कम्पिटिसन स्ट्रीट संस्कृति र स्ट्रीट खेलकुदको विकास तथा पहिचानका लागि समर्पित अन्तर्राष्ट्रिय प्लेटफर्म हो। काड्रोले विश्वव्यापी स्ट्रीट आन्दोलनलाई प्रतिनिधित्व गर्ने १३ आधिकारिक दिशामार्फत काम गर्दै आएको छ। यसले भिडियो प्रतियोगिता, शैक्षिक कार्यक्रम तथा ग्रान्ट अवसरहरूमार्फत विश्वभरका युवा प्रतिभालाई एउटै मञ्चमा ल्याउँछ, जसको यात्रा अन्ततः रुसमा आयोजना हुने ग्राण्ड फिनालेसम्म पुग्छ।
यो नियुक्तिलाई नेपालका लागि ऐतिहासिक उपलब्धि बताउँदै ज्याकले यसले नेपाली खेलाडी, कलाकार, क्रियटर तथा युवाहरूलाई स्ट्रीट वर्कआउट, क्यालिस्थेनिक्स र स्ट्रीट खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न र गर्वका साथ नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गर्ने ढोका खोल्ने बताए।
ज्याकले हालसम्म छ पटकसम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै दुई स्वर्ण पदक जितिसकेका छन्। साथै, उनले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता समेत आयोजना गरिसकेका छन्। काड्रोका ६१औँ राजदूतका रूपमा उनले नेपाललाई प्रतिनिधित्व गर्दैछन्।
विभिन्न देशबाट छनोट भएका उत्कृष्ट खेलाडीहरू सहभागी हुने काड्रोको फाइनल प्रतियोगिता सन् २०२६ अगस्ट १९ देखि २३ तारिखसम्म रुसको स्टाभ्रोपोलमा आयोजना हुने जनाइएको छ। 
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend