बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपाली साहित्य समाज क्याल्गरिको वार्षिकोत्सव तथा भानु जयन्ती सम्पन्न

नेपाली साहित्य समाज क्याल्गरिको वार्षिकोत्सव तथा भानु जयन्ती सम्पन्न

129
Shares
129
Shares

क्यालगरी, क्यानडा । नेपाली साहित्य समाज क्याल्गरीले आफ्नो स्थापनाको १४औँ वार्षिक उत्सव तथा २१२औँ भानु जयन्ती विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। क्याल्गरीको नोर्थइस्ट स्थित प्रेयरविन्ड्स पार्कको प्राङ्गणमा आयोजित सो कार्यक्रमको उद्घाटन नवीन सुब्बाको नेतृत्वमा क्याल्गरीस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू तथा नेपाली साहित्य समाज क्याल्गरीका अध्यक्ष रमेश लामिछानेले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्य समाजका सचिव रुद्र दाहाल र सह–सचिव डायना ताम्राकारले गरेका थिए। अतिथिहरूलाई स्वागत पूर्व अध्यक्ष एवं वर्तमान बोर्ड अफ डाइरेक्टर दीपक ढकालले गरेका थिए। कार्यक्रमको प्रारम्भमा नेपाल तथा क्यानडाका राष्ट्रिय गानहरू गाइएको थियो ।

नेपाली साहित्य समाज क्याल्गरीका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाईँले समाजको इतिहास सुनाउँदै एउटा भान्छा कोठाबाट सुरु भएको साहित्यिक अभियान आजको यो अवस्थामा आइपुगेकोमा खुसी व्यक्त गरे। त्यस्तै, नेपाली कम्युनिटी सोसाइटी अफ क्याल्गरीका अध्यक्ष प्रकाश बस्यालले आगामी दिनहरूमा समाजले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा अझ बढी योगदान गर्नुपर्नेमा जोड दिए। चुम्लुङ सोसाइटीका नवीन सुब्बाले साहित्य समाजलाई अन्य जनजातिमा पनि पुर्‍याउनु पर्ने र उनीहरूको भाषा, साहित्य र कलालाई उजागर गर्नुपर्ने आवश्यकता औँल्याए ।

तामाङ सोसाइटीका अरुण लामा, नेपाली सनातन सांस्कृतिक समाजका मदन नाथ, र टुगेदर विथ सिनियर सोसाइटीका राजेन्द्र गौतमले पनि आ–आफ्ना मन्तव्य व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा क्यानडाका लागि नेपाल पर्यटन प्रवर्द्धक सन्तोष दाहालले संस्थाले आगामी दिनहरूमा भाषा र साहित्यका माध्यमबाट क्यानडामा रहेका सम्पूर्ण नेपाली समुदायलाई समेट्न सकोस् भन्ने शुभकामना व्यक्त गरे। त्यस्तै, वार्ड ५ का काउन्सिलर राज धालीवालले यस्ता साहित्यिक कार्यक्रमहरूमा बालबालिकाहरूको बढी सहभागिता गराउनु पर्ने सुझाव दिँदै नेपाली साहित्य समाज क्याल्गरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न कविहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए भने एक जना वृद्ध आमाले भानुभक्तीय रामायणका श्लोकहरू वाचन गरेकी थिइन् । साथै, कार्यक्रममा १६ जनाले स्वतःस्फूर्त रूपमा नेपाली साहित्य समाज क्याल्गरीको सदस्यता लिएको घोषणा गरेका थिए ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend