बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८ औँ प्राज्ञसभाको संयुक्त रूपमा उद्घाटन

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८ औँ प्राज्ञसभाको संयुक्त रूपमा उद्घाटन

97
Shares
97
Shares

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८ औँ प्राज्ञसभाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गरे । मङ्गलवार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभाले ललितकला क्षेत्रमा नयाँ आधार तय गर्ने विश्वास व्यक्त गर्दै देशको परिवेश अनुकूल कला सिर्जना गर्ने वातावरण बनाउन कोसिस भइरहेको बताए । उनले भने, ‘प्रतिष्ठानले आगामी दिनमा खोज, अनुसन्धान तथा प्रकाशनको कामलाई थप जोड दिने छ । साथै ललितकलालाई पर्यटन प्रवर्धनसँग जोडेर काम गर्न आवश्यक छ । यसमा प्रतिष्ठानले व्यवस्थित रूपमा काम गरिरहेको छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले प्रतिष्ठानले सीमित स्रोत र साधनका बिच गरेका कामहरू प्रशंसनीय रहेको र यस्ता कार्यहरूमा सधैँ मन्त्रालयको साथ रहने बताए । उनले नीतिगत कुरामा देखिएका समस्याहरूलाई सबैको सल्लाहबमोजिम संशोधन गर्न मन्त्रालयले काम गरिरहेको धारणा राखे । प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले प्रतिष्ठानले अहिले गरिरहेको कार्यको सराहना गर्दै प्राज्ञसभाले नेपाली ललितकला क्षेत्रमा नयाँ दृष्टिकोण ल्याउन सफल हुने धारणा व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपालको ललितकला क्षेत्रलाई कस्तो बनाउने भन्ने कुरा ललितकलाकर्मीकोे मात्र हुटहुटीले नहुने बताउँदै सबैको सहयोग र सहकार्यमा मात्र त्यो सम्भव हुने बताए । उनले भने, ‘हामी ललितकला क्षेत्रको समृद्धि तथा उन्नयनका लागि योजना बनाउने पूर्वसन्ध्यामा छौँ । प्राज्ञिक व्यक्तिहरूबाट प्रज्ञा–प्रतिष्ठानलाई साँच्चैको प्राज्ञिक ढङ्गले चलाउनका लागि यो सभाको गरिएको हो ।’

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले स्रष्टाको भूमिका समाजलाई सकारात्मक दिशातर्फ लाने, सकारात्मक ऊर्जा प्रदान गर्ने हुनुपर्नेमा जोड दिँदै सामाजिक रूपान्तरण ललितकलाको अभियान मूलभावमा रही प्रतिष्ठानले काम गरिरहेको बताए । उनले भने, ‘हामी त्यही अभियानमा छौँ । हामीले ललितकलाका माध्यमबाट त्यो भूमिका निर्वाह गर्दै अगाडि बढिरहेका छौँ । ललितकला क्षेत्रलाई गति दिन यो सभाले विशिष्ट भूमिका निर्वाह गर्नेछ । हामीले नेपालका सबै ललितकलाकर्मी, संस्कृतिकर्मीहरूको साथ र सहयोगमा गतिविधिहरू गरिरहेका छौँ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न क्षेत्रबाट गरिने अनुसन्धानको काम प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले ललितकला प्रज्ञा–प्रतिष्ठानले निकै गतिका साथ काम गरिरहेको बताए । यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट धेरै सिक्न सकिने बताइन् । उनले भनिन्, ‘ललितकलाका क्षेत्रमा अहिले प्रदेशदेखि राष्ट्रिय स्तरमा जुन लहर आएको छ । यो असाध्यै सकारात्मक पक्ष हो र सिक्न लायक छ ।’ सदस्य सचिव महराले नीतिगत अधिकारका विषय तीन वटै प्रतिष्ठानका एउटै भएकाले सहकार्य गर्दै हल गर्नुपर्नेमा जोड दिइन् ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिक संस्थानका तर्फबाट सहकार्य, समन्वय र ऐक्यबद्धताका कुराहरूमा प्रतिष्ठानसँग हात अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी सबै नेपाल सरकारको संस्कृतिसम्बन्धी वकालत गर्दै आएका सङ्घसंस्था छौँ । सबैको एउटै चिन्तन के हो भने संस्कृतिलाई बुझ्ने चिन्तन र फराकिलो सोच हुनुपर्छ । यसलाई राज्यले प्रमुख अङ्गका रूपमा विकास गरिदिनुपर्छ भन्ने नै हो ।’

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend