बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण

वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण

102
Shares
102
Shares

काठमाडौं । वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ। बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा मिलाप मासिकको कात्तिक अंकमा उहाँलाई आवरण (कभर) सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा मिलाप मासिकका सम्पादक कृष्ण भुसाल सभापति, महाकाव्यकार खेमनाथ दाहाल प्रमुख अतिथि तथा अनेसासका पूर्वअध्यक्ष र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक/संगीतकार कन्हैया सिंह, पत्रकार सानु श्रेष्ठ, मिलाप फाउन्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार किशन अर्याल, अनुप सिंहलगायतको आतिथ्य रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गीता अधिकारीले मिलापले लगातार १६ वर्षदेखि मासिक पत्रिका प्रकाशन गर्दै आएको र यस अवधिमा अन्य पुस्तक पनि प्रकाशित गरेको जानकारी दिइन्। सम्पादक भुसालले १५० भन्दा बढी अंक प्रकाशित गरिसकेको उल्लेख गर्दै यसपटकको अंकमा अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ शीर्षकमा आवरण कथा तयार गरिएको बताए। उनका अनुसार मिलापले सामाजिक, आर्थिक, राजनीतिक, साहित्यिक र सांस्कृतिक विषयलाई निरन्तर प्राथमिकता दिंदै आएको छ।

गायक तथा संगीतकार कन्हैया सिंहले अञ्जनाको गायनयात्रालाई सम्मान गरेकोमा मिलापलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरे। गायिका गुरुङले चितवनमा जन्म, नेपालगञ्जमा बाल्यकाल, काठमाडौं हुँदै अमेरिकासम्मको यात्रा सुनाउँदै आफू निरन्तर गीतसंगीतमा सक्रिय रहेको बताइन्। उनले एक हजारभन्दा बढी गीत गाइसकेको र श्रोता–दर्शकको माया नै आफ्नो प्रेरणा भएको बताइन्।

भावुक हुँदै उनले भनिन्, “गीतसंगीत मेरो जीवन हो। श्रोता–दर्शकको माया नहुँदो हो भने आज म यहाँ हुने थिइनँ।” कार्यक्रममा उपस्थितहरूको आग्रहमा उनले चर्चित गीत ‘आँखैमा राख्छु मेरो देश’ प्रत्यक्ष प्रस्तुत गरिन्।

संगीतकार सन्तोष श्रेष्ठले अञ्जनालाई ‘स्वरमाधुरी’ आवरण सम्मान प्राप्त भएकी कलाकारको रूपमा पुकारिने समय आएको बताए। उनले अञ्जनाको गायन प्रतिभा विलक्षण रहेको उल्लेख गर्दै आवरण कथा लेख्ने क्रममा उहाँलाई नजिकबाट चिन्ने अवसर पाएको बताए।

अनेसासका पूर्वअध्यक्ष लेकालीले नेपाली गीतसंगीतले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा कमाउँदै गएको र प्रवासमा रहेका नेपालीहरूले यसलाई विश्वभर पुर्‍याइरहेको धारणा व्यक्त गरे। प्रमुख अतिथि दाहालले मिलापको योगदानको प्रशंसा गर्दै अञ्जना गुरुङमा वंशानुगत गायन क्षमता रहेको बताए। “जहाँ रहे पनि अञ्जनाको स्वरले नेपाली संगीतमा जीवन भर्नेछ,” उनले भने।

कार्यक्रमको सहजीकरण निर्देशक माधव खरेलले गरेका थिए। कार्यक्रममा गीतसंगीतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

चितवनमा जन्मिएकी अञ्जनाले ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘नजर नजरको’, ‘माईला रोधी घरमा (कौडा)’ लगायत सयौं चर्चित गीत गाइसकेकी छन्। हाल अमेरिका बस्दै आएकी अञ्जनाका श्रीमान् कन्हैया सिंह परियार वरिष्ठ गायक/संगीतकार हुन् भने छोरी अपेक्षा सिंह परियार पनि कला क्षेत्रमा सक्रिय छन्।

उनीहरू नेपाल आउँदा हरेकपटक नयाँ सांगीतिक कोशेली ल्याउने गर्छन्। निकट भविष्यमा अञ्जनाको रञ्जित गजमेरको संगीतमा तयार भएको गीतको भिडियो र कन्हैयाको नयाँ गीत ‘शरदको तिमी जुन हौ’ सार्वजनिक हुँदैछ।

यस्तै, यो कात्तिक २१ गते अञ्जनाको एकल गायन कार्यक्रम हुने भएको छ। साथै, उनी र कन्हैया सिंह परियारको नामबाट स्थापना गरिएको ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ निरन्तर प्रदान हुँदै आएको छ। यसवर्षको (२०८२) संस्करणमा गायक **कमल विक ‘निर्मोही’**लाई ५१ हजार रुपैयाँसहित सम्मान गरिने भएको छ।

यसअघि सो पुरस्कारबाट गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०) र लोकगायक रेशम थापा (२०८१) सम्मानित भइसकेका छन्।

नेपाली गीतसंगीतमा अञ्जना गुरुङको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै मिलाप मासिकले उहाँलाई कात्तिक अंकमा ‘स्वरमाधुरी’ आवरण सम्मानका रूपमा प्रस्तुत गरेको हो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend