बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : डा. उपेन्द्र महतो

190
Shares
190
Shares

गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक”  माथि आफ्ना सुझाव पेश गरेको छ । सोमबार सिंहदरबारमा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघसहित ब्रिटिस गोर्खा सैनिक र सरोकारवालासँग छलफल” गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो सुझाव पेश गरेको हो ।

उक्त अवसरमा संस्थापक अध्यक्ष डा. महतोले नेपालीलाई नेपालसँग जोडिराख्न नागरिकता अति आवश्यक रहेको बताउनुभयो । डा. महतोले गैरआवासीय नेपालीहरू र ब्रिटिस गोर्खा सैनिकहरूलाई आफ्ना सन्तानहरूले नेपाललाई ‘विदेश’ नठानून् भन्ने गम्भीर चिन्ता रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्ना छोरा–छोरीहरूको मनमा नेपाललाई मातृभूमिको रूपमा स्थापित गर्न र आमाबुबाको जन्मभूमिप्रति भावनात्मक नाता कायम रहोस् भन्ने उद्देश्यले नागरिकताको व्यवस्था सहज ढंगले गरिनुपर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिँदा कुनै अप्ठ्यारो नपर्ने स्पष्ट पार्दै भन्नुभयो, “हामीले हाम्रो जीवनकालमै नेपाल समृद्ध बनोस् भन्ने चाहना राखेका छौँ । गैरआवासीय नेपाली साथीहरू, ब्रिटिस गोर्खा साथीहरू सबैलाई एउटै चिन्ता छ — अब हामी २०–२५ वर्ष बाँच्छौँ होला, तर त्यसपछिका पुस्ताले नेपाललाई ‘विदेश’ नभनी, ‘यो मेरो मातृभूमि हो, मेरा आमाबुबा यहीँ जन्मनुभएको हो’ भनेर अनुभूति गरून् भन्ने चाहना हो । त्यसका लागि नागरिकताको विषय खुला मनले सहज रूपमा समाधान होस् भन्ने विश्वास लिएका छौँ ।”

डा. महतोले आर्थिक समृद्धि बिना सुशासन र दिगो विकास सम्भव नरहेको उल्लेख गर्दै, नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र सुनिश्चितता अपरिहार्य छ।”

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend