काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र (बालेन) शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल–भारतबीचको दीर्घकालीन सैन्य तथा सुरक्षा सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका सेनाध्यक्ष सेठसँगको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।
भ्रमणका क्रममा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्जा प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेनाध्यक्षलाई एक–अर्काको सेनाको मानार्थ महारथीको सम्मान दिने परम्परा रहँदै आएको छ ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठले नेपाली सेनालाई स्वास्थ्य सामग्री तथा सैन्य उपकरणसमेत हस्तान्तरण गरेका छन् । उनले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका थिए ।
नेपाली सेनाका अनुसार भारतीय सेनाध्यक्षको भ्रमणले नेपाल र भारतबीचको सैन्य सहकार्य, सुरक्षा सम्बन्ध तथा आपसी मित्रतालाई थप मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ । सेनाध्यक्ष सेठ बुधबार भारत फर्कने कार्यक्रम छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend