सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

अमेरिकामा रोबोकल बढ्यो, डेनभरको ७२० एरिया कोड पनि प्रभावित

अमेरिकामा रोबोकल बढ्यो, डेनभरको ७२० एरिया कोड पनि प्रभावित

204
Shares
204
Shares

डेनभर । अमेरिकामा अनावश्यक स्वचालित फोन (रोबोकल) को संख्या पछिल्लो समय तीव्र रूपमा बढेको छ। कल ट्र्याकिङ संस्था युमेल (YouMail) का अनुसार सन् २०२६ जुलाईमा मात्रै अमेरिकामा करिब ४.४ अरब रोबोकल गरिएको अनुमान छ, जुन एक वर्षयताकै उच्च संख्या हो ।

युमेलका अनुसार जुलाईमा आएका रोबोकलमध्ये टेलिमार्केटिङ र ठगीसम्बन्धी फोनको हिस्सा सबैभन्दा ठुलो थियो । तीमध्ये धेरै फोन पूर्वस्वीकृत ऋण (Pre-Approved Loan) को प्रस्तावका नाममा गरिएको पाइएको छ । यस्ता फोनमा कम मासिक किस्तामा ठुलो व्यक्तिगत ऋण पाउने दाबी गरिए पनि धेरैजसो फोन गैर कानुनी टेलिमार्केटिङ वा सम्भावित ठगी हुन सक्ने संस्थाले जनाएको छ ।

रोबोकलको संख्या देशभर बढे पनि केही एरिया कोड भएका नम्बरहरू बढी प्रभावित भएका छन् । जुलाईमा सबैभन्दा धेरै वृद्धि टेक्सस, जर्जिया र इन्डियाना राज्यका एरिया कोडमा देखिएको थियो ।

डेनभरको ७२० एरिया कोड पनि प्रभावित क्षेत्रमध्ये सातौँ स्थानमा परेको छ। यस एरिया कोडका नम्बरमा जुलाईमा करिब १ करोड ७६ लाख ५४ हजार रोबोकल आएका थिए, जुन अघिल्लो महिनाको तुलनामा ११ प्रतिशत बढी हो ।

युमेलका प्रमुख कार्यकारी अधिकृत एलेक्स क्विलिचीका अनुसार संघीय सञ्चार आयोग (FCC) ले रोबोकल नियन्त्रणका लागि विभिन्न कदम चाले पनि ठगी गर्ने समूहहरूले दूरसञ्चार नेटवर्कमा प्रवेश गर्ने नयाँ उपाय खोजिरहेका छन् ।

रोबोकल नियन्त्रण गर्न अमेरिकी सिनेटले विदेशबाट आउने यस्ता फोनविरुद्ध थप कडाइ गर्ने उद्देश्यले विधेयकसमेत अघि बढाएको छ।

विशेषज्ञहरूले अपरिचित नम्बरबाट आएको शंकास्पद फोन नउठाउन सुझाव दिएका छन्। आवश्यक परे फोनलाई भ्वाइसमेलमा जान दिन र बैंक, विद्युत् सेवा वा स्वास्थ्य बिमा कम्पनीसँग सम्पर्क गर्दा फोनमा आएको नम्बर प्रयोग नगरी कार्ड वा पछिल्लो बिलमा उल्लेख गरिएको आधिकारिक नम्बरमा मात्र सम्पर्क गर्न उनीहरूले आग्रह गरेका छन्।

राष्ट्रिय Do Not Call Registry मा आफ्नो नम्बर दर्ता गर्दा टेलिमार्केटिङ फोन केही हदसम्म कम गर्न सकिए पनि यसले सबै अनावश्यक वा ठगीका फोन पुर्ण रूपमा रोक्न नसक्ने बताइएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend