सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

आरोही निर्मल पुर्जासहितको निधनमा प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

आरोही निर्मल पुर्जासहितको निधनमा प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

47
Shares
47
Shares

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका १० जना आरोहीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै पर्वतारोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताएका छन्।

प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा विश्व कीर्तिमान धारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार विदेशी आरोहीको दुःखद निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन्।

उनले हिमालले धेरै आरोहीलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै पर्वतारोहणको जोखिम र त्यसमा समर्पित आरोहीहरूको साहसको उच्च मूल्याङ्कन गरेका छन्। प्रधानमन्त्री शाहले पर्वतारोहीहरू आफ्नो साहस, समर्पण र असाधारण योगदानका कारण इतिहासमा सदैव अमर रहने विश्वास व्यक्त गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन। यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ। तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्।”

प्रधानमन्त्री शाहले निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै समाप्त भएको भए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी रूपमा जीवित रहने बताएका छन्।

उनले सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend