मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

कमला प्रसाईँका तीन कृतिको अन्तरक्रिया

कमला प्रसाईँका तीन कृतिको अन्तरक्रिया

24
Shares
24
Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले साहित्यकार कमला प्रसाईँका कृतिहरू ‘चितामाथिको लास’ (नाटक सङ्ग्रह), ‘सिमाना’ (कविता सङ्ग्रह) र ‘हृदयभित्र’ (गीति सङ्ग्रह)को अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी. ले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

साहित्यकार प्रसाईंलाई नेपाली साहित्य सिर्जनामा पुर्‍याउनु भएको योगदानको लागि च्याप्टरले सम्मान पत्रसहित सम्मान गरेको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त थापा वित्यासी र अनेसास पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले प्रसाईंका ‘हृदयभित्र’ (गीति सङ्ग्रह) र ‘सिमाना’ (कविता सङ्ग्रह)को चर्चा गर्नु भएको थियो ।

यसै गरी अनेसासका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्य राख्दै प्रसाइँको योगदानको चर्चा गर्दै ‘चितामाथिको लास’ (नाटक कृति)बारे चर्चा गर्नु भएको थियो ।

च्याप्टरका अध्यक्ष एवं अनेसासका नवनिर्वाचित केन्द्रीय सदस्य राजेन्द्र के. सी. को सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के.सी., नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, चर्चित निबन्धकार युवराज नयाँ घरे, अध्यक्ष राजेन्द्र के.सी., साहित्यकारहरु कमला प्रसाईं, रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै कृतिकार प्रसाईंको योगदानको चर्चा गर्दै बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा कविहरू गीता कार्की र गीता रेग्मीले प्रसाईंका कविताहरू वाचन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि र कृति चर्चाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा चलचित्र नायक रवीन्द्र खड्का, सर्जकहरू हरिबहादुर थापा, रमेश कोइराला, सविता ढुंगाना, भगवती बस्नेत, सविता श्रेष्ठ, देवेन्द्र देबु, हरि मानन्धर, राधिका गुरागाईंलगायतको विशेष उपस्थिति रहेको थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलले प्रसाईंलाई अर्पण गरिएको सम्मान पत्र वाचन गर्नु भएको सो कार्यक्रममा उपाध्यक्ष निर्मल रमण पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव रन्जना निरौलाले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार, पत्रकार, कलाकार र प्रसाईंका परिवारजनको बाक्लो उपस्थिति रहेको थियो । कृतिकार प्रसाईंका तीनै कृति अनेसास नेपालले वि. स. २०७७ मा प्रकाशित गरेको हो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend