सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

विश्वकप २०२६ को समूह ‘बी’ : घरेलु दबाबमा क्यानडा, स्विट्जरल्यान्ड सबैभन्दा बलियो

विश्वकप २०२६ को समूह ‘बी’ : घरेलु दबाबमा क्यानडा, स्विट्जरल्यान्ड सबैभन्दा बलियो

32
Shares
32
Shares

क्यानडा । विश्वकप फुटबल प्रतियोगिता–२०२६ को समूह ‘बी’ मा सहआयोजक क्यानडासहित स्विट्जरल्यान्ड, कतार र बोस्निया हर्जगोभिना रहेका छन् । घरेलु मैदानमा खेल्ने अवसर पाएको क्यानडामाथि समर्थकको ठुलो अपेक्षा रहनेछ भने स्विट्जरल्यान्ड समूहकै सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ । कतार दोस्रो पटक विश्वकप खेल्दै छ भने बोस्निया हर्जगोभिनाले चार पटकको विजेता इटालीलाई प्लेअफमा हराएर विश्वकपमा स्थान बनाएको हो ।

हकी राष्ट्रका रूपमा परिचित क्यानडाले यस पटक फुटबलमा पनि प्रभाव जमाउने लक्ष्य राखेको छ । यसअघि सन् १९८६ र २०२२ मा विश्वकप खेलेको क्यानडा दुवै पटक समूह चरणबाट बाहिरिएको थियो । अमेरिकी प्रशिक्षक जेसे मार्सको नेतृत्वमा रहेको टोली आक्रामक शैलीमा खेल्ने विश्वास गरिएको छ । बायर्न म्युनिखका स्टार अलफोन्सो डेभिज, युभेन्ट्सका जोनाथन डेभिड र सिली लारिन क्यानडाका मुख्य खेलाडी हुन् । विश्व वरीयतामा ३०औँ स्थानमा रहेको क्यानडाले पहिलो खेल टोरोन्टोमा बोस्निया हर्जगोभिनाविरुद्ध खेल्नेछ ।

विश्व वरीयतामा १९औँ स्थानमा रहेको स्विट्जरल्यान्ड लगातार छैटौँ विश्वकप खेल्दै छ । पछिल्ला तीन विश्वकपमा नकआउट चरण पुगे पनि टोली प्रिक्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । कप्तान ग्रानिट जाकासँग १४० भन्दा बढी अन्तर्राष्ट्रिय खेलको अनुभव छ । प्रशिक्षक मुरात याकिनकै नेतृत्वमा छनोटमा अपराजित रहेको स्विट्जरल्यान्डले केवल दुई गोल मात्र बेहोरेको थियो ।

सन् २०२२ को विश्वकप आयोजक कतार दोस्रो पटक विश्वकपमा सहभागी हुँदै छ । स्पेनी प्रशिक्षक युलेन लोपेटेगुइको प्रशिक्षणमा रहेको कतारले पछिल्ला वर्षहरूमा फुटबल विकासमा ठुलो लगानी गरेको छ । कप्तान हसन अल हेडोसले विश्वकपकै लागि सन्न्यास फिर्ता लिएका छन् भने अल्मोएज अलि टोलीका मुख्य गोलकर्ता हुन् ।

यता, बोस्निया हर्जगोभिनाले प्लेअफमा इटालीलाई पेनाल्टी सुट आउटमा हराएर विश्वकपमा स्थान सुरक्षित गरेको थियो । विश्व वरीयतामा ६६औँ स्थानमा रहेको बोस्नियाले यसअघि सन् २०१४ मा विश्वकप खेलेको थियो । टोलीका अनुभवी स्ट्राइकर इडिन जेको घाइते भए पनि टोलीका प्रमुख आशा मानिएका छन् । प्रशिक्षक सजगेज बारबारेज पनि राष्ट्रिय टोलीका पूर्वकप्तान हुन् ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend