सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

35
Shares
35
Shares

काठमाडौँ, सर्जक राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक भएको छ । काठमाडौँमा शनिवार साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा आयोजित एक विशेष समारोहबिच उक्त कृति सार्वजनिक भएको हो ।

कार्यक्रमको प्रारम्भमा अशेष मल्लको निर्देशनमा, सर्वनाम नाट्य समूहका कलाकारहरूले विमोचित कृतिको एक अंशमा आधारित छोटो नाटक प्रस्तुत गरे ।

कृतिमाथि आफ्नो विवेचनात्मक मन्तव्य राख्दै लेखक तथा पूर्व सचिव गोपी मैनालीले खत्रीको कृति मूलतः सरकारी सेवामा रहँदाका आफ्ना तीता मीठा अनुभवको इमान्दार दस्तावेजीकरण भएको बताए । सरल भाषामा रहको उक्त कृतिले सरकारी सेवाभित्रको ऊहापोह, विदेशमा रहँदाका सजिला–अप्ठ्यारा, कतिपय निजी र पारिवारिक तर सार्विक चासो र सरोकारका कुरा उठाएकोले अत्यन्त पठनीय भएको बताए । अर्का वक्ता युवराज मैनालीले खत्रीको कृतिले अतीतका मिहिनभन्दा मिहिन अनुभूतिलाई पनि रोमाञ्चक शैलीमा टिपेर पाठकको अभिरुचिलाई पनि ध्यान दिएको टिप्पणी गरे । समालोचक प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल तथा पूर्वराजदूत मधुसूदन पौडेलले सर्जक खत्रीलाई कृति सफलताको शुभकामना व्यक्त गरे ।

कृतिको रचना गर्भको चर्चा गर्दै सर्जक राम खत्रीले आफ्नो आधा जीवन सरकारी सेवामै बितेको हुँदा पुस्तकको अधिकांश हिस्स त्यसै सेवाका अनुभवले ओगटेको बताए । आफ्नै निजी कथाभित्र पनि सार्विक महत्त्वका कतिपय कुरा आउन सक्ने विश्वासले यस कृतिको सिर्जना भएको उनले बताए ।

सभाध्यक्ष इल्या भट्टराईले आफू राम खत्रीको कार्यकुशलता र दायित्वबोधबाट लामो समयदेखि प्रभावित भएको टिप्पणी गरिन् । उनले भनिन्— ‘जसको जीवन र व्यवहार नै यति सरल र जिम्मेवार छ, उनको कृति स्वभाविक रूपमै पठनीय छ ।’

कृतिलाई रामगीता वाङ्मय मन्दिरले बजारमा ल्याएको हो । न्युयोर्कवासी खत्री परराष्ट्र सेवाका सेवानिवृत्त कर्मचारी हुन् र हाल न्युयोर्कमा बस्दै आएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend