काठमाडौँ । नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण टिमले प्रदर्शनको पहिलो दिन काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, अरुण क्षेत्री, अभिनेत्री रेणुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिनभर काठमाडौँ उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।
झन्डै नौ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए । उनले भने, ‘हामीले फिल्ममार्फत भन्न खोजेको कुरालाई दर्शकले राम्रोसँग बुझ्नुभएको छ, अधिकांश दर्शकले यसलाई आफ्नै कथा भन्नुभएको छ । मैले जे सन्देश दिन खोजेको थिएँ, त्यो दर्शकसम्म पुगेको छ ।’
उनले हल भिजिटका क्रममा सम्पूर्ण उमेर समूहका दर्शकसँग भेटघाट गर्न पाएको बताए । ‘मैले साना बालबालिकादेखि म भन्दा अग्रज पुस्ताको व्यक्तिलाई हलमा दर्शक बनेको देख्दा खुसी लाग्यो । त्यो भन्दा खुसीको कुरा सबैलाई फिल्म मन परेको छ । हलसम्म परिवार लिएर आइपुग्नुभएका दर्शक फर्किँदा पनि खुसी नै हुनुहुन्छ । यसलाई मैले सफलता मानेको छु’, उनले भने ।
उनले बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानी अभावजस्ता विषयमा आधारित फिल्मले अहिलेको समसामयिक विषयलाई पर्दामार्फत दर्शकसम्म पुर्याएको बताए । अभिनेता विपिन कार्कीले फिल्मको विषयवस्तुले दर्शकलाई हलसम्म ल्याउने बताए । ‘यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्दा आगामी दिनमा दर्शकको भीड अझ बढ्नेमा विश्वस्त छु । यसले नेपाली माटोको मौलिक कथा प्रस्तुत गरेको छ । फिल्म हेर्नेले पक्कै अन्यलाई सिफारिस गरेर फिल्म हेर्न हलसम्म पठाउनु हुनेछ’, उनले भने ।
पहिलो दिन अधिकांश सो हाउस फुल हुँदा र दर्शकले सकारात्मक प्रतिक्रिया दिँदा अभिनेता अरुण क्षेत्री दंग छन् । उनले दर्शक साक्षात्कारका क्रममा पाएको प्रतिक्रिया निकै बलियो रहेको बताए । ‘पहाड सुन्दर ठाउँ हो । हामीले त्यसको सौन्दर्यसँगै रित्तिँदै गएको पहाडको कथालाई पनि चित्रण गरेका छौँ । दर्शकले यसलाई मन पराउनुभएको छ । सबै उमेर समूहका दर्शक भेट्न पाएँ, उहाँहरूले अन्यलाई पनि फिल्म हेर्न सिफारिस गर्ने बताउनुभएको छ । हामी आगामी केही दिन विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने छौँ’, अभिनेता क्षेत्रीले भने ।
फिल्म ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनिल थापा, रेणुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ। फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएका पहाडी क्षेत्र र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ । नव अभिनेत्री पञ्चमी घिमिरेलाई दर्शकले न्यानो स्वागत गरेका छन् । दर्शकसँग साक्षात्कारका क्रममा निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीले वाहवाही पाइन् ।
‘मैले पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिन, म कृतज्ञ भएकी छु । म निकै खुसी छु, कथासँग दर्शक जोडिनुभएपछि त्यसका पात्रलाई आफ्नो मान्नु हुने रहेछ । हामीलाई गाउँ/समाजकै पात्रको रूपमा दर्शकले स्विकार्नुभएको महसुस गरेकी छु’, उनले भनिन् ।
निर्देशक घिमिरेले यसअघि ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ तथा ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’मा समेटेका छन् । फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन्। भाग्य रत्न फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्म ‘पहाड’मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। साथै, प्राविधिक टिममा निर्देशककी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।
फिल्ममा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन्।
फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गरेको छ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend