काठमाडौँ । वरिष्ठ साहित्यकार पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई विभिन्न एक सय एक साहित्यिक संस्थाहरूले भक्तपुर लोकन्थली ठिमी चन्द निवासमा हिजो सामुहिक अभिनन्दन गर्यो ।
अभिनन्दन समारोह समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लेकाली, तारा किशन फाउन्डेसनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’ले उहाँ र उहाँकी धर्मपत्नीलाई दोसल्ला, टोपी, दुवो र फूलको माला लगाएर फूल वर्षासहित कद बराबरको अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा चन्दलाई सगुन पनि दिइएको थियो ।

कार्यक्रममा सुदुरपश्चिम बैतडीको स्थानीय कलाकारहरूले लोक नृत्य छलिया, बाजागाजासहित सामुहिक अभिनन्दनमा सहभागी हुनु भएको थियो भने चर्चित सङ्गीतकार एवं गायक नरहरि प्रेमीले विभिन्न गीतहरू गाउनु भएको थियो ।
कार्यक्रमका सभापति राधेश्याम लेकालीले सो कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै भन्नु भयो – “मदन पुरस्कार प्राप्त विशिष्ट सर्जक लोकेन्द्रबहादुर चन्दलाई राजनीतिज्ञ भन्दा पनि वरिष्ठ साहित्य सर्जकको हैसियतमा अभिनन्दन गरिएको र चन्द जस्तो विशिष्ट सर्जकको जिउँदै सम्मान हुनु गर्वको कुरा हो । साथै सर्जकको जिउँदै सम्मान गर्ने परम्परालाई निरन्तरता पनि दिनेछौँ । साहित्यिक पत्रकार सङ्घले २०३८ सालमा नै बी पी कोइरालालाई अभिनन्दन गरिसकेको छ । यस अगाडि पनि अन्य विभिन्न सर्जकलाई सामूहिक सम्मान गरिसकिएको छ। एक सय एक संस्थाद्वारा आयोजित यो अभिनन्दन कार्यक्रमलाई भने तारा किशन फाउन्डेसन, अमेरिकाले प्रायोजन गरेको छ ।”
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नु भएको थियो ।

यसै गरी जनकवि केशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो भने परिवारका तर्फबाट चन्दका छोरा पूर्व मन्त्री जयन्त चन्दले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको प्रभावकारी सहजीकरण साहित्यकार मोमिलाले गर्नु भएको थियो ।
नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुप्रसिद्ध चन्द विभिन्न समयमा चार पटक नेपालका प्रधानमन्त्री बन्नुभएको छ । उहाँ कुशल शब्द-शिल्पी हुनुहुन्छ । मदन पुरस्कारसहित विभिन्न मानसम्मान र पुरस्कारले विभूषित चन्द शालीन, सादगी र भद्र राजनीतिज्ञ मानिनुहुन्छ ।
पञ्चायतकालमा दुई पटक तथा त्यसपछि दुई पटक गरी चार पटक देशका प्रधानमन्त्री भइसक्नुभएका चन्दसँग राजनीतिको लामो अनुभव त छ नै साहित्यमा पनि उहाँको निकै लामो र महत्वपूर्ण योगदान छ । उहाँको ‘बाह्रौँ खेलाडी’ कृति अत्यन्त लोकप्रिय भएका कारण कतिपयले उहाँलाई सम्बोधन गर्दा नै ‘बाह्रौँ खेलाडी’ पनि भन्ने गरेको पाइन्छ । बाह्रौँ खेलाडी किनारीकृत खेलाडी जस्तो मानिए पनि निर्णायक खेलाडी पनि बन्न सक्छ खेलमा ।

उहाँको व्यक्तित्व राजनीतिसँगै साहित्यमा अझ चम्किलो छ । कुशल साहित्यकार उहाँका एक दर्जन साहित्यिक कृति प्रकाशित छन् भने केही पुस्तक प्रकाशनको तयारीमा छन् । यही उहाँको साहित्यिक र सामाजिक व्यक्तित्वलाई सोमबार एक सय एक विभिन्न संस्थाले अभिनन्दन गरेका हुन् । समारोहमा उहाँका पारिवारिक सदस्यसँगै विविध क्षेत्रका विशिष्ट व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
अभिनन्दित व्यक्तित्व वरिष्ठ साहित्यकार चन्दले आख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाज रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई अभिनन्दन गरिएको पत्रमा उल्लेख छ । उहाँलाई एक सय एक संस्थाका प्रतिनिधिले अलग-अलग खादा, माला र दोसल्लाले अभिनन्दन गरेका थिए ।
कार्यक्रममा साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ले अभिनन्दन पत्र वाचन गर्नु भएको थियो ।
अभिनन्दन पत्रमा लेखिएको छ –
“कुनै पनि देश र जातिको मूल पहिचान भन्नु नै त्यस देशको भाषा, साहित्य, कला र संस्कृति तथा मौलिक परम्परा हुन् । यस कुरालाई मनन गर्दै यसैको जगमा उभिष्ठर आख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा विशिष्ट योगदान गर्दै आउनुभएका बहु आयामिक व्यक्तित्व वरिष्ठ सर्जक लोकेन्द्रबहादुर चन्दलाई विशेष समारोहमा प्रदान गरिएको –
अभिनन्दन पत्र
लामो राजनीतिक यात्रामा आफ्नो विशेष पहिचान र योगदान स्थापनाका साथै स्वच्छ र शालीन छवि बनाउन सफल तपाईँले आफ्ना रचना र सिर्जनाका माध्यमबाट नेपाल र नेपाली जनताको हितमा अविचल र अचल रूपमा उभिएर आफ्नो छ दशक लामो सिर्जन यात्रा पूरा गर्नुभएको छ । यस समयमा कथा, उपन्यास र हास्यव्यङ्ग्य निबन्ध सिर्जनाका माध्यमबाट नेपाल र नेपाली समाजलाई पुऱ्याउनु भएको योगदान अविस्मरणीय र महत्त्वपुर्ण रहेको छ ।
यसरी सिर्जना र समाजसेवाका माध्यमबाट यथेष्ट योगदान पुयाउँदै आउनुभएका तपाईँलाई हामी निम्न संस्थाहरूका तर्फबाट सामूहिक रूपमा हार्दिक अभिनन्दन गर्दछौँ ।
तपाईँको व्यक्तित्व र कृतित्व सधैँ प्रकाशमान भई रहोस् ।
विभिन्न संस्थामा आबद्ध हामी सबै जना यस विशिष्ट घडीमा तपाईँ र तपाईँको परिवारको उत्तरोत्तर प्रगति एवम् सृजनशील जीवनका निमित्त हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”
परिचय :
पिता : महावीर चन्द
माता : लक्ष्मीदेवी चन्द
जन्म : वि.सं. १९९६ साल फागुन ३ गते
जन्मस्थान : कुरकुटिया गाउँ, बैतडी ।
सन्तान : ४ छोरा, ३ छोरी
छोरा : जयन्त चन्द, अरुण चन्द, विनोद चन्द र भुपेन चन्द (जयन्त चन्द, दुई पटक मन्त्री), (अरुण चन्द व्यवसायी) (विनोद चन्द कम्प्युटर इन्जिनियर) र (भुपेन चन्द कलाकार, अमेरिका) ।
छोरी : सुशीला राणा, सुनिता राणा र मीरा शाह ।
लोकेन्द्रबहादुर चन्दका कृतिहरु :
कथा, नाटक र उपन्यास, कविता गीत सिर्जना ।
विसर्जन (कथासङ्ग्रह ) वि.सं. २०५४ सालको मदन पुरस्कार प्राप्त कृति ।
बाह्रौं खेलाडी (२०३५) कुर्सी र (२०६८) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ।
नेताका साथी (२०४१) प्रहसनकृति ।
हिउँको तन्ना (२०४२), विसर्जन (२०५४), रात्रीभोज (२०६०), पाहुनाघर (२०६८) र लेमिङहरू (२०७३) कथासङ्ग्रह कृति ।
इन्द्रधनुष (२०५०), अपरिचित (२०५१), सन्ध्यावली (२०५७) र तिम्रो झलक (२०५९) कविता कृतिहरू ।
सम्पादन : निर्झर
साहित्यिक नाम : लोचन
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend