काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन दिनको मुख्य आकर्षण जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको प्रतिस्पर्धा रहनेछ, जसको खेल आज दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय गरिएको छ ।
यो सिजनका सबै खेलहरू त्रिवि मैदानमै दिउँसो र रातिको सत्रमा सञ्चालन हुनेछन्। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपीएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित गरेर कुल ३२ खेल समावेश छन् । उद्घाटन खेलका लागि सामान्य टिकट ५ सय रुपैयाँ र प्रिमियम टिकट १५ सय रुपैयाँ तोकिएको छ। अन्य दिनका खेलहरूका लागि टिकट दर क्रमशः ५ सय र १ हजार रुपैयाँ रहनेछ। प्लेअफका खेलमा भने सामान्य टिकट १ हजार र प्रिमियम २ हजार रुपैयाँ निर्धारण गरिएको छ। क्यानले सिजन पास १५ हजार रुपैयाँमा उपलब्ध गराएको छ ।
यस वर्षको एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन्—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स । प्रतियोगिताको दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्स पहिलो खेलमा भिड्नेछन् भने दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend