काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री बालेनले सरकार खोज, उद्धार र राहतको चरण पूरा गर्दै अब पुनः स्थापनातर्फ अघि बढेको बताएका छन्। प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, मनोपरामर्श तथा पुनःस्थापनालाई प्राथमिकतामा राखिएको र आवश्यकता अनुसार अझै जनशक्ति खटाइने उनले जानकारी दिएका छन्।
प्रधानमन्त्रीद्वारा सोसियल मेडियामा सार्वजनिक विवरण अनुसार बाढी विपद्को हालको अद्यावधिक स्थिति निम्न बमोजिम छ:
उद्धार, राहत र आश्रय
उद्धार तथा घाइते: हालसम्म ११,८८४ जनाको उद्धार गरिएको छ भने ३,९१६ जना अझै सम्पर्कविहीन छन्। घाइते २९२ जनामध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
अस्थायी आश्रय: नुवाकोटका १९ वटा आश्रय स्थलमा २,६५३ जनाले राहत र आश्रय पाएका छन्। यसै गरी नुवाकोटमा २,४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।
बजेट निकासा र वित्तीय व्यवस्थापन
नेपाल सरकारले आज १ अर्ब रुपैयाँ निकासा गरेको छ, जसमध्ये १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ। यसअघि रसुवा र नुवाकोटलाई १/१ करोड र धादिङलाई ५० लाख रुपैयाँ पठाइसकिएको थियो।
प्रधानमन्त्री राहत कोषका ९ वाणिज्य बैंक खातामा ६ अर्ब ३६ करोड ६५ लाखभन्दा बढी रकम जम्मा भएको छ। १ अर्ब निकासापछि हाल ५ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ र अन्य बैंकमा ६१ लाख ११ हजार अमेरिकी डलर मौज्दात छ।
यातायात तथा भौतिक पूर्वाधार
सडक: गल्छी–बेत्रावती–रसुवागढी सडकको ८२ किमी खण्ड र पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको छ। पृथ्वी राजमार्गका धेरैजसो भागमा लेदो हटाई यातायात सञ्चालन गरिएको छ भने तादी देवीघाट र बेत्रावतीमा बेलिब्रिज राख्ने काम भइरहेको छ।
पुल क्षति: कुल ४८ झोलुंगे पुलमध्ये २० वटा मर्मतयोग्य र २८ वटा नयाँ बनाउनुपर्ने अवस्थामा छन्। साथै, ३१ वटा मोटरेबल पुल बगेकोमा ३ ठाउँमा बेलिब्रिज प्रक्रिया सुरु भइसकेको छ।
स्वास्थ्य तथा महामारी नियन्त्रण
महामारी फैलिन नदिन ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ लागू गरी विशेष टोली, एम्बुलेन्स र मानसिक स्वास्थ्य परामर्शदाता खटाइएको छ।
रोग रोकथामका लागि ‘सोरमास (SORMAS)’ प्रणाली सञ्चालनमा ल्याइएको छ भने सेनाले किटाणुशोधन र जनचेतनामूलक माइकिङ गरिरहेको छ।
अन्तर्राष्ट्रिय सहयोग
भारत, चीन, पाकिस्तान, युएई, कतारलगायतका देशबाट खाद्यान्न तथा राहत सामग्री प्राप्त भइरहेको छ। भारतले ६८.५ टन र चीनले ५० टन राहत सामग्रीका साथै उद्धार टोली समेत पठाएका छन्।
चीनले ३० करोड रुपैयाँ, अमेरिकाले ५ लाख डलर र अस्ट्रेलियाले १ मिलियन डलर सहयोगको प्रतिबद्धता जनाएका छन्। यस्तै, विश्व बैंकले १६७ मिलियन डलरको सहुलियतपूर्ण कर्जा र एडिबीले ५ मिलियन डलर अनुदान दिने भएका छन्।
शव व्यवस्थापन र डिएनए परीक्षण
हालसम्म १,०५० वटा शव फेला परेका छन्। पहिचान नभएका शवहरूको ‘पहchecked बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम डिएनए नमुना सुरक्षित राखी वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन भइरहेको छ।
आफन्तको पहिचानका लागि रगतको नाता पर्ने व्यक्तिले २ प्रति फोटोसहित प्रहरी अस्पताल महाराजगञ्ज वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। विदेशमा रहेकाहरूले डिएनए परीक्षण गरी dnacodis@nepalpolice.gov.np मा पठाउन सक्ने व्यवस्था मिलाइएको छ।
विपद्को कारण: जलवायु परिवर्तन
विशेषज्ञहरूका अनुसार भोटेकोशीको बाढी हिमाली क्षेत्रमा हिउँ–चट्टान खसेर सिर्जित यस क्षेत्रकै ठुलो विपत्ति हो। हिमालय क्षेत्रको तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि हुनुले यो विपद् निम्त्याएको र जलवायु परिवर्तनको असरबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा आवाज उठाउनुपर्ने प्रधानमन्त्रीले बताएका छन्।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend