डेनभर (कोलोराडो) — अमेरिकाको अग्रणी स्वचालित सवारी सेवा कम्पनी वेमो (Waymo) ले आफ्नो चालकविहीन (Driverless) रोबोट्याक्सी सेवा डेनभरमा विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले यसै सातादेखि डेनभरको डाउन टाउन क्षेत्रमा परीक्षण परियोजना सुरु गर्ने भए पनि सर्वसाधारणका लागि सेवा भने तत्काल उपलब्ध नहुने जनाएको छ।
गुगलको मातृ कम्पनी अल्फाबेट (Alphabet) अन्तर्गत रहेको वेमोले प्रारम्भिक चरणमा करिब एक दर्जन चालकविहीन सवारीसाधन डेनभरमा परिचालन गर्ने जनाएको छ। कम्पनीका प्रवक्ता स्यान्डी कार्पका अनुसार यी गाडीहरू अहिले यात्रु बोक्नका लागि होइन, डेनभरको सडक, ट्राफिक अवस्था र स्थानीय ड्राइभिङ वातावरण बुझ्न परीक्षणका रूपमा सञ्चालन गरिनेछन् ।

उनले सर्वसाधारणले वेमोको रोबोट्याक्सीमा यात्रा गर्न अझै केही समय कुर्नुपर्ने बताउँदै यात्रुवाहक सेवा आगामी वर्षदेखि मात्र सुरु हुने अपेक्षा गरिएको जानकारी दिइन्।
कार्पका अनुसार परीक्षणको क्रममा कम्पनीले स्थानीय सरकार, आपतकालीन उद्धार निकाय तथा समुदायसँग सहकार्य गर्दै डेनभरको विशेष सडक वातावरणलाई अध्ययन गर्नेछ। प्रारम्भमा डाउन टाउन क्षेत्रमा सीमित रहने सेवा विस्तार हुँदै क्रमशः सम्पूर्ण डेनभर महानगर क्षेत्रमा पुग्ने योजना रहेको कम्पनीले जनाएको छ। यद्यपि चेरी क्रिक, रेड रक्स लगायतका क्षेत्रमा सेवा कहिलेसम्म पुग्छ भन्ने समयसीमा भने कम्पनीले खुलाएको छैन।
यदि परीक्षण सफल भयो भने डेनभर वेमोको सेवा सञ्चालन हुने अमेरिकाका प्रमुख सहरहरूको सूचीमा समावेश हुनेछ। हाल कम्पनीले सान फ्रान्सिस्को, लस एन्जलस, फिनिक्स, एटलान्टा र अस्टिनमा व्यावसायिक सेवा सञ्चालन गरिरहेको छ। यसैबिच कम्पनीले **सियाटल, डलास, मियामी र वासिङ्टन डी.सी.मा पनि विस्तारको घोषणा गरिसकेको छ।
डेनभरमा सेवा विस्तारअघि कम्पनीले मेयर माइक जोनस्टन, कोलोराडोका गभर्नर जारेड पोलिस, कोलोराडो यातायात विभाग (CDOT) तथा स्थानीय उद्धार तथा सुरक्षा निकायहरूसँग छलफल गरिसकेको जनाएको छ ।
वेमोले सार्वजनिक गरेको विज्ञप्तिमा मेयर जोनस्टनले चालकविहीन ट्याक्सीले डेनभरवासीलाई सुरक्षित र सहज यात्रा सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्। उनले काम, विद्यालय, किसान बजार वा साँझको भ्रमणका लागि वेमो सुरक्षित विकल्प हुने उल्लेख गर्दै यसको वातावरणमैत्री प्रविधिले सडकलाई अझ सुरक्षित र स्वच्छ बनाउन सहयोग पुग्ने बताएका छन् ।
डेनभरमा वेमोले जागुआर आई–पेस (Jaguar I-Pace) र जिकर आरटी (Zeekr RT) मोडलका विद्युतीय सवारीसाधनमा आफ्नो स्वचालित ड्राइभिङ प्रणाली प्रयोग गर्नेछ। कम्पनीका अनुसार यो प्रणाली मिसिगन, न्यु योर्क तथा सिएरा नेभाडाका हिउँ पर्ने क्षेत्रहरूमा समेत सफलतापुर्वक परीक्षण भइसकेको छ ।
यद्यपि कम्पनी केही समयअघि करिब १,२०० वटा चालकविहीन सवारी फिर्ता बोलाउन (रिकल) बाध्य भएको थियो । रोयटर्सका अनुसार ती सवारीहरू सडकमा रहेका चेन, गेट तथा अन्य अवरोधसँग ठोक्किने समस्या देखिएपछि सुधारका लागि रिकल गरिएको थियो।
यसका बाबजुद वेमोले आफ्नो प्रविधि मानव चालकभन्दा धेरै सुरक्षित रहेको दाबी गरेको छ। कम्पनीका अनुसार यसको स्वचालित सवारी मानव चालकको तुलनामा गम्भीर चोट लाग्ने दुर्घटनामा ८८ प्रतिशत कम र पैदल यात्रीसँग हुने दुर्घटनामा ९३ प्रतिशत कम संलग्न हुने तथ्यांक सार्वजनिक गरिएको छ ।
डेनभरमा सुरु हुन लागेको यो परीक्षण सफल भएमा कोलोराडोमा चालकविहीन सार्वजनिक यातायात सेवाको नयाँ युगको सुरुआत हुने अपेक्षा गरिएको छ। यात्रुवाहक सेवा सुरु भएपछि डेनभरवासीले मोबाइल एपमार्फत चालकविहीन ट्याक्सी बोलाएर यात्रा गर्न सक्नेछन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend